उच्च कोलेस्ट्रोल र ट्राइग्लीसेराइडको प्रकोप तथा यसबाट बच्ने उपाय 



Download our app to get more features

कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो, जुन खानाबाट प्राप्त हुन्छ । खानामा पाइने बोसोको शोषण आन्द्रामा भएपछि रगतमा पुग्छ । रगतमा नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने सम्भावना हुन्छ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ । जसमा कोलेस्ट्रोल जती बढि हुन्छ र जती बढि समयको लागि उच्च हुन्छ, रक्तनली साघुँरो हुने (ब्लकेज) सम्भावना त्यति नै बढि हुन्छ । थाहै नभैकन पनि, बाहिरबाट स्वस्थ देखिने युवाहरुमा पनि उच्च कोलेस्ट्रोलले रक्तनलीलाई साघुँरो गरेको अवस्था हुनसक्छ । मुटु र मस्तिष्कलाई रक्तप्रभाव गर्ने कोरोनरी र सेरेब्रल आर्टरीमा कोलेस्ट्रोल जम्मा भएर अचानक हृदयघात र मस्तिष्कघात जस्ता प्राणघातक रोगहरु उच्च कोलेस्ट्रोलको पहिलो लक्षण हुनसक्छ । 
युवाहरुमा देखिने हृदयघातको प्रमुख कारण नै उच्च कोलेस्ट्रोल हो । युवाहरुमा उच्च कोलेस्ट्रोल-ट्राइग्लीसेराइड छ भने यसको कुनै पनि लक्षण नहुन सक्छ । यसले गर्दा स्वस्थ व्यक्तिमा पनि अचानक समस्या उत्पन्न हुनसक्छ । त्यसैले २० वर्षभन्दा बढी उमेर समुहका मानिसहरुले समयमै आफ्नो रगत परिक्षण गरी कोलेस्ट्रोलको मात्रा थाहा पाउनु जरुरी हुन्छ । काडमाण्डौ उपत्यकाको पाँच हजार पाँच सय युवामा गरिएको एक अनुसन्धानमा ८८ प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको कोलेस्ट्रोलको समस्या देखिएको थियो । कोलेस्ट्रोललाई नियन्त्रणमा राख्न सकिएन भने भोलीका दिनमा युवाहरुमा यसले अत्यन्तै चिन्ताजनक स्वास्थ्य समस्या उत्पन्न गर्नसक्छ ।

कोलेस्ट्रोलको जाँच 
रगतमा कोलेस्ट्रोलको मात्रा थाहा पाउन गरिने जाँचलाई लिपिड प्रोफाइल भनिन्छ । यसकोलागि ८ देखि १२ घण्टाको खाली पेट हुनु जरुरी हुन्छ । रगतमा एल.डि.एल.को मात्रा १०० मिलीग्राम प्रतिशत भन्दा कम हुनुपर्छ । १०० देखि १३० मध्यम र १३० भन्दा माथि भएमा उच्च कोलेस्ट्रोल मानिन्छ । त्यसैगरी ट्राइग्लीसेराइड १५० मिली भन्दा कम हुनुपर्छ । १५० देखि २०० मध्यम र २०० भन्दा माथि भएमा उच्च मानिन्छ । 

औषधि कस्तो अवस्थामा सुरु गर्ने ?
औषधि सुरु गर्ने-नगर्ने योजना धेरै कुरामा निर्भर हुन्छ । कोलेस्ट्रोलको स्तर मात्रले सधै औषधि लिने निर्णय गरिदैन । कोलेस्ट्रोलको स्तर सँगसँगै मुटुरोग, मस्तिष्क रोग तथा अन्य यस्ता रोग लाग्ने संभावनामा पनि निर्भर रहन्छ । मधुमेह, उच्च रक्तचाप, मोटोपना, ध्रुमपान तथा मदिरा सेवन, वंशाणुगत, मुटुरोग आदि छ भने त्यस्ता विरामीमा कोलेस्ट्रोलको मात्रा हेरेर प्रायः औषधि दिने निर्णय गर्नुपर्ने हुन्छ । जस्तै कुनै मधुमेहका व्यक्तिमा एल.डि.एल. कोलेस्ट्रोलको मात्रा १०५, वा मुटुरोगमा ९० मि.ग्रा. हुदा पनि औषधि खानुपर्ने हुनसक्छ । तर एउटा स्वस्थ व्यक्तिमा कोलेस्ट्रोल १४० छ भने पनि औषधि नदिएरै नियन्त्रणमा राख्न सकिन्छ । त्यसैगरी यदि मधुमेहको विरामीमा ट्राइग्लीसेराइड १६० मि.ग्रा. मा पनि औषधि दिनुपर्ने हुनसक्छ । तर स्वस्थ व्यक्तिलाई ट्राइग्लीसेराइड ५०० भन्दा माथि भयो भने औषधि सुरु गर्नुपर्छ । ५०० भन्दा कम छ भने जीवनशैली परिवर्तन गरि नियन्त्रणमा राख्न सकिन्छ । कहिलेकाँही २०० देखि ५०० मि.ग्रा.को अवस्थामा औषधि प्रयोग गर्न जरुरी पनि हुनसक्छ । यसको निर्णय चिकित्सकले नै गर्नेगर्छ ।  
विश्वमा सवभन्दा धेरै प्रयोग हुने औषधि मध्ये कोलेस्ट्रोल पनि एक हो । किनभने यसले हृदयघात र मस्तिष्कघातबाट बचाउँने प्रशस्त प्रमाण भेटिएको छ । त्यसैले अलि बढी कोलेस्ट्रोल भएमा पनि औषधि दिनुपर्छ भन्ने मेडिकल साइन्सले देखाएको छ । उच्च कोलेस्ट्रोल देखियो भने सुरुमा औषधि सेवन गरी नियन्त्रणमा राख्ने र जीवनशैली आहार बिहारमा परिवर्तन गरेर कोलेस्ट्रोलबाट हुने जोखिम न्यूनिकरण गर्न सकिन्छ । औषधिले कोलेस्ट्रोलेको मात्रा घटाउने मात्र नभई हृदयघातको सम्भावनालाई पनि घटाउँछ ।

तर, कोलेस्ट्रोलमा प्रयोग गरिने औषधिले साइड इफेक्ट समेत गराउँछ । त्यसैले फाइदा र बेफाइदालाई दाँजेर निर्णय लिने गरिन्छ । कुनै कुनै कोलेस्ट्रोलको औषधिले मधुमेह गराउने सम्भावना रहन्छ । त्यसैगरी मांशपेशी तथा कलेजोको समस्या पनि देखाउँन सक्छ । २ किसिमको कोलेस्ट्रोलको औषधि एउटै विरामीले सेवन गरेमा वा उच्च मात्रामा सेवन गरेमा यस्तो समस्या हुने सम्भावना बढी रहन्छ । त्यसैले कुनै पनि व्यक्तिले यदि अन्य कुनै माध्यमबाट आफ्नो कोलेस्ट्रोल घटाउँन सक्छ भने चिकित्सको परामर्श अनुसार औषधिको प्रयोग नगर्नु नै राम्रो हुन्छ । कोलेस्ट्रोलको औषधि चिकित्सकको सल्लाहमा नियमित रुपमा लामो समय सम्म सेवन गर्नुपर्ने हुन्छ । आफ्नो इच्छा अनुसार खाने र छोड्ने गर्नु हुदैन । यसले गर्दा कोलेस्ट्रोलको मात्रामा घटबढ भई झन खतरा हुनसक्छ । 

उपचार प्रक्रिया
कोलेस्ट्रोल नियन्त्रण गर्ने औषधिले हृदयघात र मस्तिष्कघातकोे सम्भावनालाई कम गर्छ । कोलेस्ट्रोलको स्तरलाई घटाउँन र सामान्य अवस्थामा ल्याउन औषधिको प्रयोग गर्नुपर्छ । पछि गएर आफ्नो जीवनशैलीमा परिवर्तन गरेर खानपीनमा सुधार ल्याएर औषधिको मात्रा घटाउँने र बन्द गर्न पनि मिल्छ । तर मधुमेह, हृदयघातका विरामीले औषधि नियमित रुपमा सेवन दिनुपर्छ । यस्ता बिरामीले कहिलेकाहीँ सामान्य स्तरको कोलेस्ट्रोलमा पनि औषधि खानु पर्ने हुनसक्छ । मुटुमा समस्या, वाइपास अप्रेशन भएका विरामी, स्टेनट राखेका विरामीमा कोलेस्ट्रोल १०० मि.ग्रा. भन्दा कममा पनि औषधि सेवन गर्नुपर्छ । 
कोलेस्ट्रोल नियन्त्रण राख्ने प्रमुख उपाय खानपीनको सन्तुलन नै हो । उच्च कोलेस्ट्रोलको औषधि सेवन गर्नेले चुरोटको सेवन गर्नु हँुदैन । कोलेस्ट्रोलको समस्या भएकाले चुरोटको सेवन गरेमो हृदयघात र मस्तिष्कघात हुने सम्भावना धेरै हुन्छ । मदिरा सेवनले पनि ट्राइग्लीसेराइड बढाउँन सक्छ । थोरै मदिरा सेवन गर्दा स्वास्थ्यलाई फाइदा पुग्छ भन्ने मान्यता छ, तर यो पूर्ण सत्य होइन । वियरले ट्राइग्लीसेराइड बढाउने काम गर्छ । थोरै मात्रामा वाइनको सेवनले राम्रो कोलेस्ट्रोल बढाउँन सक्छ । तर, मुटुलाई राम्रो गर्छ भन्ने सोचले मदिरा सेवन गर्नु बैज्ञानिक रुपले गलत सावित भएको छ । 
उच्च कोलेस्ट्रोल भएमा तौल घटाउन जरुरी हुन्छ । यसका लागि दिनहुँ हिड्ने, व्यायाम गर्ने, खानपीनमा ध्यानदिने गर्नुपर्छ । हिडाइले नराम्रो कोलेस्ट्रोलको स्तर घट्नुका साथै राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
उच्च कोलेस्ट्रोल र  ट्राइग्लीसेराइड भएका व्यक्तिमा प्राणघातक रोगको खतरा भएकोले यसको स्तरलाई सक्दो चाडो नियन्त्रणमा लिनु जरुरी हुन्छ । शुरुमा चिकित्सकको सल्लाह अनुसार औषधि खाएर पछि खानपीन र जीवनशैलीमा सुधार ल्याएर सधैको लागि विना औषधि नियन्त्रण गर्न सकिन्छ । यसको लक्षण नुहने भएकाले समयमै लिपिड प्रोफाइल जाँच गर्नु जरुरी हुन्छ । 

 

Last modified on 2017-06-11 13:34:20

  1. उद्धवराज भेटुवाल

    हाम्रो डक्टर न्यूजका सम्पादक समेत रहेका भेटुवाल दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय छन् ।

    View Other Stories by Author >>

3 Comments

  1. Kolestrol vaneko k ho r?

  2. टंक दियाल on Fri, Jun 16 2017 11:47 AM

    मेराे triglyceride 218, cholesterol (Enzymatic end point) serum 212, HDL= cholesterol 36, lDL cholesterol 143 छ म रक्सी पिउथे कहिले काही तर २ महिना भयाे छाडेकाे याे समस्या भए देखी । हाल खैनी खाइरहेकाे छु । जचाएर अाैषधी पनि खादै छु । मैले याे समस्या वाट मुक्त हुन के के गर्नु परला । मेराे उमेर ३७ बर्ष भयाे ।

  3. mero triglyceride 257 total cholesterol 162 hdl cholesterol 38 ldl cholesterol 73 cha aba maile k garnu parla alcohole not drink tara churot ko matra dinn ko 15 wota cha


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts