जब गाउँकै महिलाले ‘स्यानेटरी प्याड’ बनाउन थाले 



Download our app to get more features

काठमाण्डौ, ७ कार्तिक । आमरुपमा महिलाहरुले श्रीमानले विदेशबाट पठाएको पैसाले परिवारको गर्जो टार्ने गरेका छन् तर, धादिङ सेमजोङका महिलाहरुको अवस्था भने अलि फरक छ । धेरैका श्रीमान विदेशमा भएपनि उनीहरु श्रीमानले कमाएको पैसामा भर नपरेर आर्फै आयआर्जनमा जुटेका छन् । त्यो पनि स्थानीय स्तरमै महिला स्वस्थ रहन आवश्यक पर्ने स्यानिटरी प्याड निर्माण गरेर । यो किस्मतले भुकम्प पछि थिलाथिलो भएका सेम्जोङका महिलामा उर्जा थपेको छ । भुकम्पले घरगोठ सबै भत्काइदिएको छ, पालको भरमा रात विताएपनि स्थानीय महिलाहरु उद्यमशिलतामा लागेर नमूना बनेका छन् ।

 ६ सय ९० घर धूरी रहेका सेमजोङका महिलाले एक घर एक सदस्य बनाई साना किसान महिला सहकारी संचालन गरेका छन् । सहकारीबाट उनीहरुले कृषि लगायत धेरै काम गर्दै आएका छन् । त्यस मध्येको एक हो आफै स्यानिटरी प्याड उत्पादन गर्ने ।  

जर्मन सहयोग नियोग जीआइजेडको जर्मन रिकभरी कार्यक्रम अन्तर्गत साना किसान महिला सहकारीलाई करिव पाच लाख पर्ने मेसिन सहयोग गरेपछि उनीहरुले गाँउमै प्याड उत्पादन सुरु गरेका हुन् ।

भुकम्पपछि बेरोजगार हुन पुगेको महिलामा सहकारी आयआर्जन गर्ने थलो बनेको थियो । यसरी सहकारीलाई जीआइजेडले प्याड उत्पादन गर्ने मेसिन सहयोग गरे पछि उनीहरुमा झनै उर्जा थपिएको छ । हाल उनीहरुले दैनिकरुपमा पाँचसय प्याड उत्पादन गर्दै आएका छन् । यसको क्षमता वृद्धि गर्दै दैनिक तीन हजार सम्म उत्पादन गर्ने उनीहरुको लक्ष्य छ ।

स्थानियरुपमा नै प्याड उत्पादन हुन थाले पछि छिमेकी गाविसबाट पनि यसका माग हुदै आएको साना किसान महिला सहकारीकी अध्यक्ष तथा प्याड उत्पादन कार्यक्रमकी संयोजक मिना तामाङले बताईन् । ‘दैनिक पाच सय उत्पादन गरेका छौं’, उनले भनिन्, ‘हामीले अझै स्थानीयको माग नै पुरा गर्न सकेका छैनौं ।’  

उत्पादन सुरु गरेको पहिलो महिनामा नै यसको मागमा वृद्धि भएपछि हाल उनिहरुलाई प्याड उत्पादन गर्न भ्याइनभ्याई छ । बिजुलीको अभावमा उनीहरुले आफ्नो क्षमताको प्याड उत्पादन गर्न सकिरहेका छैनन् ।

 उनीहरुले उत्पादन गर्ने १२ ग्राम प्याड बजारमा पाइने प्याड भन्दा राम्रो, केमीकल रहित, राम्रो सँग सोस्ने क्षमता रहेको तामाङले बताइन् । जसका कारण पनि यसको प्रभावकारीता बढेको स्थानिय महिला बताउछन् ।  ६० रुपैयामा पाइने एक प्याकेजमा ८ बटा प्याड रहेको छ । गाउँमै प्याड उत्पादन हुनथालेपछि स्थानीय महिलामा उद्यमशिलताको विकाससँगै प्याडको प्रयोग गर्ने र स्वस्थ रहनुपर्ने ज्ञानपनि अभिवृद्धि भएको छ । 

Last modified on 2017-08-13 12:06:56

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts