एचआईभी र एड्सका बारेमा जान्नै पर्ने कुरा

एचआईभी र एड्स सम्वन्धि केही भ्रम



Download our app to get more features

काठमाण्डौं । आज डिसेम्बर १ तारिख अर्थात् २९ औँ विश्व एड्स दिवस नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदैँछ । “एचआईभीलाई रोक्न हात उठाऔँ” मूल नाराका साथ यस वर्षको एड्स दिवस मनाइदैँछ ।

विश्वव्यापी रुपमा सन् २०३० भित्र एड्सलाई अन्त्य गर्ने लक्ष्य अनुसार सवै राष्ट्रहरु विभिन्न रणनीति सहित काम गरिरहेका छन् । संयुक्त राष्ट्रसंघले सन् १९८८ मा गरेको घोषणा अनुसार प्रत्येक बर्ष डिसेम्बर १ अर्थात मसींर १६ मा एड्स दिवस मनाईन्छ । एड्स दिवस मनाउनुको उद्देश्य पनि यसै लक्ष्यबारे स्मरण गरी जनचेतना फैलाउनु, एड्स विरुद्ध हुने सवै खालका गतिविधिहरुबारे जानकारी आदान-प्रदान गर्दै यस रोगका कारण मृत्यु भएका मानिसहरुको सम्झना गर्नु हो ।

केहो एचआइभि र एड्स ?
एड्स अंग्रेजी शब्द Acquired Immuno deficiency Syndrome AIDS (एक्वायर्ड इम्युनो डेफिसेन्सी सिन्ड्रोम) को छोटो रुप हो । यो एचआइभी Human Deficiency Virus HIV (ह्युमनइम्युनो डिफिसेन्सी भाइरस)  को संक्रमणद्वारा मानव शरीर प्रभावित हुने अवस्था हो । अर्थात एड्स भनेको रोगको एउटा अवस्थाहो भने एचआइभी भनेको भाइरस (विषाणु) हो ।

अक्वायर्ड (Acquired) भन्नाले एउटा स्वस्थ व्यक्ति जसले अर्कै अस्वस्थ व्यक्तिसँग रोग प्राप्त गर्दछ । त्यस्तै इम्मयुन वा इम्मयुनो (Immuno) भन्नाले स्वस्थ व्यक्तिको शरीरमा भएको संक्रामक रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हो ।

डिफिसियंसी (Deficiency) को अर्थ चाँहि कमी हुने अर्थात इम्मयुनो डिफिसियंसी (Immuno deficiency) प्रतिरक्षा प्रणालीमा कमीआउनु भन्ने हुन्छ ।

सिन्ड्रम (Syndrome) को अर्थ एउटा यस्तो रोग हो जसले शरीरमा विभिन्न थरीका समस्या पैदा गर्छ। मानव शरीरको विभिन्न अंगहरुमा असर पारी धेरै लक्षण तथा चिन्हहरु देखाउने भएकोले यस रोगलाई ‘सिन्ड्रोम’ भनिन्छ ।

एचआईभी संक्रमण भएपछि बिस्तारै संक्रमितको प्रतिरक्षा प्रणाली कमजोर भएर विभिन्न रोग एवं जीवाणुको संक्रमणसंगै विभिन्न लक्षण देखिएको अवस्थालाई नै एड्स (AIDS)भनिन्छ । शरीरमा एचआईभी भएपनि एड्सको लक्षण देखिइ नसकेको अवस्थालाई एचआईभी अवस्था भनिन्छ । त्यसैले एचआईभी र एड्स भन्नु फरक कुरा हो ।

कसरी संक्रमण हुन्छ त ?

  • एचआईभीसंक्रमितसंग असुरक्षित यौन सम्पर्कबाट
  • एचआइभी संक्रमित रगत, रगतबाट बनेका पदार्थ तथाअंगहरु लिँदा
  • सुई तथासिरिन्जको साझाप्रयोगबाट
  • संक्रमित आमाबाट जन्मेको बच्चामा

माथि उल्लेखित माध्यमबाट शरीरमा संक्रमण भएपछि एचआइभीले शरीरमा रहेको ‘टी’ लिम्फोसाइट सीडी–४ (T-Lymphocyte) कोसेतो रक्तकोषको संरचनामा आक्रमण गर्दछ र त्यसपछि बिस्तारै उक्त भाइरस अन्य कोषहरूमा सर्दछ ।

यसरी एचआइभीको संक्रमण भएपछि नै परिपक्व भएर एड्सको अवस्थामा पुगिन्छ । एचआइभी संक्रमण भएपछि एड्सको अवस्थामा पुग्नशरीरको प्रतिरक्षा प्रणाली अनुसार २ देखि १५ वर्षसम्म लाग्ने गर्दछ । एचआइभी भाइरस शरीरमा फैलिएपछि क्रमशअन्य रोगसंग लड्ने क्षमता ह्रास हुँदै जान्छ ।

संक्रमित व्यक्तिको शारिरीक अवस्था अनुसार कुन व्यक्त कति बाँच्छ भन्ने कुराको निर्धारण हुने गर्दछ । संक्रमित व्यक्तिहरुले स्वस्थ जीवनशैली अपनाएको खण्डमा कुनै ठुलो औषधि उपचार बिना पनि करिव १० वर्षसम्म बाँच्न सक्दछन् ।

के के हुन्छन् लक्षण ?
नयाँ संक्रमितलाई सुरुमा कुनै लक्षण नदेखिए पनि विस्तारै विभिन्न अवस्था अनुसार लक्षणहरु देखिन थाल्दछ ।

प्राथमिक एचआइभी संक्रमण 
(२–४ हप्ताहरू)

  • रूघाजस्तो लक्षणहरूः ज्वरो, मांशपेशीमा पीडा, घमौरा, टाउको दुख्ने, राति पसिना आउने, घाँटी सुन्निने, घाँटीमा गाँठाहरू सुन्निने, जोर्नी दुख्ने,नाक बन्द हुने
  • कुनै रोग नभएको जस्तो अनुभव हुन सक्ने

क्लिनिकल सुषुप्तता
(२ हप्ता – २० वर्ष)

  • घाँटीमा गाँठाहरू निरन्तर ठूलो हुने तर दुखाई नहुने ।
  • सुषुप्तता समयावधिको अन्त्यमा भाइरसको स्तर वृद्धि हुन्छ र क्रमश गम्भीर लक्षणहरूतिर लैजान्छ ।
  • एक्कासी धेरै तौल घट्ने ।
  • बारम्बार श्वासप्रश्वासमा संक्रमण हुने ।
  • छाला र मुख सुन्निने, जस्तैः छालामा पीडादायी घमौरा, चिलाउने कत्ला भएको छाला, बारम्बार अल्सर हुने र मुखमा संक्रमण हुने ।
  • निरन्तर पखाला लागीरहने ।
  • निरन्तर ज्वरोआइरहने ।
  • पल्मोनरी क्षयरोग देखा पर्ने ।
  • जटिल प्रकारको रक्तअल्पता ।

एड्स हुने अवश्था

  • अन्तिम अवश्थामा एचआइभीका प्राणघातक लक्षणहरु देखा पर्न थाल्छन् 
  • क्लिनिकल सुषुप्तताको अवश्थामा देखा परेका लक्षणहरु क्रमश जटिल हुँदै जाने ।
  • नरम खानेकुरा र तरल पदार्थ निल्न समस्या हुने
  • एक्स्ट्रा पल्मोनरी क्षयरोग देखा पर्ने
  • बारम्बार निमोनिया भइरहने
  • मुख, ओठ र यौनाङ्गमाबारम्बार फोका वा चोट (हर्पस) देखापर्ने ।
  • छालामा चोटको ठूला घाउ खटिराहरू देखा पर्दै जाने ।
  • स्नायु प्रणालीमा समस्या भइरहने ।

यसरी सर्दैन 

  • रोगीको जुठो खाएमा, लुगा लगाएमा, र एउटै शौचालय प्रयोग गरेमा ।
  • चुम्बन गर्दा, खोक्दा वा हाच्छ्युँगर्दा ।
  • हात मिलाउँदाअंकमाल गर्दा, सामाजिक भेटघाट गर्दा ।
  • रुमाल, काइयो, टावेल आदिको साझाप्रयोग गर्दा ।
  • दैनिक प्रयोग गर्ने भाँडा कुडाहरु खाद्य वस्तुहरु पेय पदार्थको प्रयोग गर्दा ।
  • सुरक्षित यौनक्रिया, परिक्षित रगत र अंगतथा निर्मलीकृत औजार प्रयोग गर्दा ।
  • लामखुट्टे कीरा, फट्याड्डा, जुम्रा उडुस,उपियाँले टोक्दा ।
  • बिरामीको स्याहार -सुसार गर्दा ।


उपचार कसरी र कहाँ गर्ने ?
एचआइभी संक्रमितहरुलाई पुर्ण निको बनाउन नसकिए पनि एन्टिरेट्रोभाइरल थेरापीमार्फत उनीहरुको आयु बढाउन सकिन्छ । 
हाल नेपालमा एचआइभी संक्रमितहरुले एन्टिरेट्रोभाइरल थेरापीका माध्यमबाट औषधि प्रयोग गर्दै आएका छन् । नेपालमा ४४ वटा केन्द्रहरु मार्फत संक्रमितहरुलाई निशुल्क एन्टिरेक्ट्रोभाइरल उपलब्ध गराइदै आएको छ ।

के हो एन्टिरेक्ट्रोभाइरल ?

एचआईभीलाई उपचार गर्न प्रयोग गरिने विधि एन्टिरेक्ट्रोभाइरल थेरापी (एआरटी) एउटा औषधिहरूको प्याकेज हो। तर यो उपचार विधिभने होइन । यसले भाइरसलाई नियन्त्रण गरेर बिरामीलाई केहीलामो समयसम्म बाँच्न, स्वस्थ रहन, शरीरमा भाइरसको मात्रा पनि घटाउँन र अन्य मानिसहरुमा सर्ने सम्भावना घटाउन सहयोग गर्दछ ।

एचआईभी र एड्स सम्वन्धि केही भ्रम

  • एचआईभी हुनु भनेको एड्स हुनु हो। 
  • एचआईभी संक्रमण भइपछि केही समय मात्र बाँच्छ। 
  • एचआईभी संक्रमण भएको लक्षणबाट नै थाहापाउन सकिन्छ।
  • एचआईभी अन्य संक्रमण जस्तै औषधि खाएमा पूर्ण रुपमा ठिक हुन्छ। 
  • दुवैलाई एचआईभी संक्रमण छ भने यौन सम्पर्क गर्दा कण्डम लगाउनु जरुरी हुदैंन। 
  • रोग प्रतिरोधात्मक शक्ति कमजोर भएको अवस्थामा हुने खतरनाक संक्रमणहरु (Opportunistic Infections) बाट केही गरेपनि बच्न सकिदैंन।

नेपालमा सन् १९८८ मा पहिलो पल्ट एकजना मानिसमा एचआइभी एड्स फेला परेकोमा अहिले यसबाट करिब ७२ हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेको कुरा विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

हाल नेपालमा एचआइभी संक्रमितको संख्या भने घट्दै गएको तथ्यांक छ तर संक्रमितहरु खुलस्त नहुँदा वास्तविक तथ्यांकअझै स्पष्ट हुन सकेको छैन । नेपाल सरकारले घोषणा गरेको एचआइभी एड्स सम्बन्धि राष्ट्रिय रणनीतिमा सन् २०१६ सम्म नयाँ संक्रमण दरलाई घटाएर ५० प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ भने मृत्युदर २५ प्रतिशत र नवजात शिशुमा हुने संक्रमणलाई ९० प्रतिशत घटाउने लक्ष्य छ । नेपालमा अहिले एचआईभी संक्रमितको संख्या ५० हजार रहेको अनुमान छ । 

एजेन्सीको सहयोगमा / फाईल फोटो -एजेन्सी
 

Last modified on 2016-12-01 18:27:26

  1. Dinesh Lamichhane

    Reporter

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts