मृत्युको मुखमा पुगेर फर्किएकाहरु भन्छन्ः क्यान्सरको पीडा अरुले भोग्न नपरोस्

सन्दर्भः ‘विश्व स्तन क्यान्सर जनचेतनाको महिना’



Download our app to get more features

काठमाण्डौं । काठमाण्डौंको धापासी स्थायी घर भएकी सिद्धि चन्द हाल ६५ वर्षकी भइन । ११ वर्ष अघि उनको स्तनमा सामान्य गालामा देखिने खाल्टो (डिम्पल) जस्तो देखियो । दुखाईको अनुभव नहुने भएकाले उनले त्यसप्रति खासै चासो राखिनन् । सामान्य रोगको लक्षण मानेर डाक्टरलाई देखाएपछिमात्र स्तन क्यान्सर भएको थाहा भयो । 

तर, त्यतिञ्जेल ढिलो भइसकेको थियो । उनले थाहा पाउँदासम्म क्यान्सरको अन्तिम अवस्था मानिने चौथो चरणको क्यान्सर भइसकेको थियो । चन्दले बाँच्ने सम्भावन निकै कम छ भन्ने महसुस गरेकी थिइन । किनभने प्रायजसो क्यान्सरको अन्तिम अवस्थामा पुगेपछि ठीक हुने सम्भावना निकै नै कम हुन्छ भन्ने उनलाई थाहा थियो । तर, पछि उपचार प्रक्रिया थालेर डाक्टरको नियमित परामर्श र निरन्तर औषधि सेवन गरेपछि उनी पूरै निको भइन् । 

हाल उनी ब्रेष्ट क्यान्सर सम्बन्धि परामर्श दिने ‘ब्रेष्ट क्यान्सर काउन्सिलिङ’की अध्यक्ष बनेकी छन् । त्यसैले उनी हिजोआज नेपाल क्यान्सर अस्पताल भित्र रहेको ‘सर्भाइभर क्लिनिक’मा बसेर बिरामीलाई परामर्श दिन व्यस्त छिन् । 
 
उनलाई देख्दा कसैलेपनि क्यान्सर भएर निको भएको मान्छे भन्ने ठान्दैनन् । हँसिलो मुद्रामा देखिएकी चन्द क्यान्सर रोगबाट पीडित मानिसलाई क्यान्सर रोकथाम र परीक्षणका बारेमा चेतना बिस्तार गर्ने काम गर्छिन् । अन्तिम अवस्थाको क्यान्सर भएर पनि बाँच्न सफल चन्द अरु बिरामीलाई नआत्तिन सुझाव दिन्छिन् । जसले गर्दा अन्य क्यान्सर भएकाहरुको हौसला पनि बढ्ने गरेको छ । 

क्यान्सर हुँदा आफूले भोगेको पीडा अरु कसैलाई नपरोस भन्ने उनको चाहना छ । त्यसका लागी उनको सत्कर्म जारी छ । परामर्शका साथै चन्दले क्यान्सर भएर औषधि उपचार गर्न नसक्ने असहाय बिरामीलाई उपचारमा सहयोग पनि गर्ने गरेकी छिन् । 

त्यस्तै, काउन्सिलिङकी अर्की सदस्य हुन ४७ वर्षे प्रमिता खनाल । उनी पनि स्तन क्यासरबाट मुक्ति लिएकी अर्की महिला हुन् । ५ वर्ष पहिला उनलाई अनुहारमा डण्डिफोर जस्तो खटिरा आउने र पुन निको हुने जस्ता सामान्य लक्षण देखापर्यो । ६ महिनासम्म अनुहारमा देखिएको खटिरा पछि बिस्तारै स्तनमा पनि देखियो । 

स्तनको टुप्पोमा खटिरा आएपछि जाँच गराएकी खनाललाई पहिले त पिलो भएको भन्दै एन्टिबायोटिक औषधि खान चिकित्सकले परामर्श दिए । एक हप्ताको औषधि सेवनबाट पनि खटिरा निको नभएपछि जनरल सर्जनको चेकजाँचले मात्र थाहा भयो उनलाई पहिलो चरणको स्तन क्यान्सर भइसकेको रहेछ । बुबाकोसमेत क्यान्सरबाट मृत्यु भएको कारण शुरुमा निकै आत्तिएकी उनी भारत जाने कुरा गर्दा चिकित्सको गाली समेत खानु परेको अनुभव सुनाउँछिन् । 

तर, नेपालमै विशेषज्ञ चिकित्सकको उचित परामर्श र उपचार पाएपछि उनी पूर्ण रुपमा क्यान्सर मुक्त छिन् । उनी पनि ब्रेष्ट क्यान्सर काउन्सेलिङको सदस्यको रुपमा क्यान्सर रोगबारे जनचेतना जगाउने अभियानमा छिन् । 

सिद्धि र प्रतिमा क्यान्सर रोग भएर ठीक भएका प्रतिनिधि उदाहरण मात्र हुन् । यस्ता धेरै बिरामी छन् जसलाई आफूलाई क्यान्सर भएको बारे जानकारी समेत छैन, भने कति मानिसको त अन्तिम अवस्थामा रोगको पहिचान हुँदा उपचार हुन नसकेर मृत्युवरण गर्न बाध्य छन् । 

हाम्रो समाजमा थुप्रै सिद्धि र प्रतिमाहरु छन् । त्यसो त क्यान्सर रोगलाई ज्यान लिने रोग भन्दै नराम्रो दृष्टिकोणले हेरिने हुँदा पनि कतिपय व्यक्ति उपचारपछि निको भएर पनि यस विषयलाई गोप्य राख्छन् । जसका कारण क्यान्सर रोग लागेमा मृत्यु हुन्छ भन्ने भ्रम अझै विद्यमान छ ।

सिद्धि र प्रतिमा जस्ता व्यक्तिले खुलेर आफ्ना अनुभव बाँड्ने हो भने क्यान्सर रोगका बारेमा जनचेतना फैलाउन सहज हुने थियो । क्यान्सर रोगको समयमै पहिचा न गरी उपचार गरे पूरै निर्मुल हुन्छ भन्ने ज्ञान धेरैमा बिस्तार हुने थियो ।
 
शरीरमा असामान्य अवस्था देखापर्दा, शरीरमा दुख्ने वा नदुख्ने गिर्खा देखापर्ने विषयलाई समान्य रुपमा लिँदा धेरै मानिसलाई अन्तिम अवस्थामा आएर मात्र क्यान्सर भएको थाहा हुन्छ । जसले गर्दा उनीहरुलाई बचाउन सकिँदैन । क्यान्सर निको हुनेहरु समाजमा खुलेर नआउने र अन्तिम अवस्थाका व्यक्तिको मृत्यु हुँदा क्यान्सर रोगले मृत्यु हुन्छ भन्ने भ्रम यथावत रहेको हो भन्ने बुझाई छ सिद्धि र प्रतिमाको । 

आफू जस्तै क्यान्सर भएर पनि सामान्य जीवनमा फर्किएकाहरुले क्यान्सरका बारेमा रचनात्मक तवरबाट क्यान्सर रोगका बारेमा चेतना फैलाउन सक्रिय भए धेरैले क्यान्सरको बारेमा जानकारी गराउन सकिने उनीहरुको विश्वास छ । 

Last modified on 2016-10-24 19:23:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts