“डक्टर सा'व मलाई दाद भयो लौन अब के गर्ने ?”

एकदिन एक वरिष्ठ व्यक्ति 'ओपिडी'मा आए र खुसुक्क भने, 'डाक्टर सा'ब, दाद भएजस्तो छ, अप्ठ्यारो ठाउँमा चिलाएर सुत्नैसकेको छैन, लाजैमर्दो भईसक्यो लौ न के गर्ने ?' नभन्दै विगत ६ महिनादेखि एक किसिमको ढुसी (दाद)ले उनको पुरै शरीरभरी डेरा जमाइसकेको रहेछ । पेशाले उच्च ओहोदामा पुगिसकेका ती व्यक्तिले उपचारका नाउँमा धेरै रकम खर्च गरिसकेका रहेछन् । तैपनि उचित उपचारको अभावका कारण निको नभएर धेरै दुःख पाएका रहेछन । यो त एउटा प्रतिनीधि उदाहरण मात्र हो । यसरी दादको समस्याले धेरैलाई सताइरहेको हुन्छ ।
दादलाई कसैले दाज, दिनाउ, दिनाई भन्ने गरेपनि र अंग्रेजीमा 'रिंगवोर्म' (Ringworm) भनिन्छ । यसलाई मेडिकल भाषामा 'टिनिया' (tinea) नामले चिनिन्छ । सबै उमेरका व्यक्तिलाई यो समस्याले पीडा दिने गरेको पाइन्छ । दादको समस्या विशेषतः छालारोगको विभागमा आउने दुई तिहाई सम्मका बिरामीको टाउको दुखाई बनिरहेको पाइन्छ ।
के हो त दाद वा 'रिंगवोर्म' ?
यो एक किसिमको ढुसी, 'डर्माटोफाइट' (dermatophyte) छालाको संक्रमणलाई ढुसी (दाद) भनिन्छ । धेरैजसो यो 'रिंग' आकारको भएकोले यसलाई 'रिंगवोर्म' पनि भनिएको हो । यसले हाम्रो शरीरको धेरै गुम्सिएर रहने भाग जस्त तिघ्राको काप, काखीमुनी, स्तनको मुनिपट्टिको भाग लगायत शरीरका अन्य त्यस्तै ठाउँहरुमा असर गर्ने गर्दछ । यसले छालामात्रै नभएर रौँ तथा नङलाई पनि सजिलै असर गर्न सक्छ।
के कारणले हुन्छ दाद ?
यो संक्रमित व्यक्तिबाट जो कोहिलाई पनि सजिलै सर्न सक्छ । संक्रमित व्यक्तिको लत्ताकपडा, जुत्ता चप्पलको प्रयोगबाट पनि सर्न सक्छ । संक्रमित घरपालुवा जनावरको सम्पर्कबाट वा ढुसी भएको ठाउँजस्तै खेतबारी, पौडीपोखरी, चौर, बगैचा, जिमखाना तथा अन्य ठाउँमा खाली खुट्टा हिडेमा पनि सर्न सक्छ ।
विशेषत : गर्मी र वर्षातको समयमा यो रोगका संक्रमितहरु धेरे हुन्छन् । तराईका जिल्लाहरुमा दादका संक्रमित बढी हुने गरेपनि अत्याधिक रुपमा देखिने गरेकाले यो आम समस्याका रुपमा देखिदै आएको छ । अधिक पसिना आउने व्यक्तिहरु, सरसफाईमा ध्यान नदिने तथा रोगसँग लड्न सक्ने क्षमता ह्रास भएका व्यक्तिहरुमा देखिने गर्छ ।
यस्ता छन् दादका लक्षणहरु
छालाको दाद धेरैनै चिलाउने हुन्छ । यो शरीरको काप कापमा र अन्य भागमा गोलो 'रिंग' जस्तै आकारमा बढ्दै जाने खालाको रातो या फुस्रो रंगको कत्ले घाऊजस्तो भएर सुरु हुन सक्छ । कहिलेकाँही औंलाको कापमा हिलोले खाएको जस्तो चिलाउने घाऊपनि देखिन्छ र फरक खालका पीप भरिएको घाऊमा पनि दाद देखिने सम्भावना हुन्छ ।
ढुसीले नङको संक्रमण गरेमा नङ बाक्लो हुने, रंग परिवर्तन हुने वा टुक्रा परेर झर्ने हुन्छ । टाउकोको कपालमा संक्रमण भएमा कपाल आफै झर्ने वा सजिलै उखेलिने तथा कपालमा चायाँ बढ्दै गइ घाउपनि हुनसक्छ ।
दाद निको पार्ने उपायहरु
दादको लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा गई चर्मरोगसम्बन्धि तालिमप्राप्त चिकित्सक वा विशेषज्ञको सल्लाह बमोजिम औषधी उपचार गर्नुपर्छ । खाने चक्की, क्याप्सुल, मल्हम, पाउडर, स्याम्पु वा साबुन दादको उपचारमा प्रयोग हुने औषधिहरु हुन । चिकित्सकको सल्लाह नलिइ औषधी प्रयोग गर्नुहुँदैन ।
यदि गलत औषधी प्रयोग गरियो भने दाद भनै पुरै शरीरभरी फैलने खतरा हुन्छ । तसर्थ, समयमै उचित उपचार गराउनु नै बुद्धिमानी हुन्छ । साथै, यो रोगबाट बच्न र एकपटक भइसकेको छ भने पुन नहोस भन्नका लागि व्यक्तिगत सरसफाइमा ध्यान पुर्याउनु आवश्यक हुन्छ ।
- अरुले प्रयोग गरिसकेका कपडा, जुत्ता प्रयोग हुँदैन । गुम्सिने खालका वस्त्रहरु लगाउनुहुँदैन ।
- मोजा र भित्रि कट्टु दैनिक रुपमा परिवर्तन गर्नुपर्छ ।
- खुट्टामा दाद छ भने पहिला मोजा लगाएपछि मात्र अन्य कपडा लगाउनुपर्छ ।
- सकेसम्म खाली खुट्टा हिड्नु हुदैन ।
- खेलकुद वा व्ययाम पछि सफा पानीले नुहाउने गर्दा पनि दादको संक्रमणबाट जोगिन सकिन्छ ।
- स्विमिङ पुलमा पौडी खेलिसकेपछि पुन सफा पानीले राम्रोसँग नुहाउनु पर्छ । नुहाइसकेपछि सफा र सुख्खा कपडाले शरीर सुख्खा हुनेगरि पुछ्नु पर्दछ ।
- घरपालुवा जनावरहरुलाई सफा सुघ्घर राख्नुहोस र कुनै समस्या देखिएमा भेटनरी डाक्टरबाट उपचार गराउनुहोस ।
यी उपायहरु अवलम्बन गर्ने हो भने दादको समस्याबाट मुक्त रहन सकिन्छ ।
6 Comments
-
मलाइ करिब 2 बर्ष भो, दाज छ, एक पाली पुरै निको भयो तर ऐले फेरि देखिएको छ। के गर्ने कुन उपचार गर्ने , प्रतिक्रिया छिटो आसा लियेको छु।
-
Mero pani ringworm xa maile tarfin vane malam lagako xu 6hapta vayo niko vaye bir haspital ko doctor ko sallale lagako tar biso vaye na
-
मलाई पनि दादले साह्रै सतायो सर कुन औषधी प्रयोग गर्नु पर्छ होला।
-
मलाई पनि दाद काे समस्या छ गर्ने हाेला
-
मलाई पनि यो समस्याले सताएको छ डा, औसधि बताइदिनुस् न
-
Eak choti niko bhahea paxi pheri aune sambhawana xa ki nai