मानव मूल्य र मानव अधिकारको सवाल

सन्दर्भ: बायोइथिक्स दिवस



Download our app to get more features

मानवीय मूल्य, गौरव र प्रतिष्ठाको विषयमा लेख्न भनी बसिरहँदा हामीबीचका केहि घटनाप्रसंगहरु पैंठेजोरी खोज्दै मनमा सवालहरु तेस्र्याउन आइपुगे ।

●       शहर होस् वा गाउँ, क्षमताभन्दा ज्यादा भिड राख्ने, समयमा नचल्ने गाडीमा अलि केहि भन्नु मात्र पर्छ । आजकल तुरुन्त जवाफ आउनेगर्छः ‘आफूखुशी मजाले जान त आफ्नै गाडी वा रिजर्भमा जानुपर्छ ।’ मानौं आम मानिसले समयमा र आरामले गाडी चढ्न पाउँदैनन् । आफ्नो ठाउँमा आफैं राजा, अरु सबै रंक भनेजस्तो । तर त्यसो भन्ने कतिपय कन्डक्टर वा चालकको मन पनि गाडी मालिकको बचन र दुव्र्यवहारले बिचलित भैरहेको हुनेगर्छ । ऋण काढेर वा जसोतसो धानिएको गाडी व्यवसाय चलाउने क्रममा गाडीसाहुलाई कुनै सरकारी कागज वा केहि गर्नपरे सरकारी कर्माचारीले बोल्नसम्म सुन झर्लाझैं गरेको हुनसक्छ । त्यस्ता कतिपय कर्माचारी पनि केहि समस्या परेर स्वास्थ्यसंस्था वा कुनै सेवा प्रदायककोमा पुग्दा अपहेलित वा बेवास्तामा परेको हुनसक्छ । आजभोलि अधिकांस सेवा प्रदायकहरु पनि शक्ति, पद, पार्टी, गुट, पैसा, नातावाद आदिको चंगुलमा व्यावसायिक गौरब र मर्यादामा रहन असमर्थ भएको सकस भोगिरहेका देखिन्छन् । वर्तमानमा अनुत्तरित भएपनि समयको यस्ता घटनाक्रमको चक्रव्यूहभित्र पनि अब सवालहरु सर्बत्र उठ्न थालेकाछन् । पदासिन र राष्ट्रको ढुकुटीमा आफ्नो हात जगनाथ गर्नेहरु तथा मानवमूल्य र अरुको अधिकारसँग खेल्नेहरुसँग पनि समयले जवाफ माग्नेछ । त्यसको लागि अबको आवश्यकता के हुनसक्छ ?

●       घरमा भाइलाई बोर्डिङ र दिदीलाई सरकारी स्कूल पढ्न, अनि घरको काम पनि गर्नपरेको व्यथा धेरै नेपाली महिलाको यथार्थ हो । आफ्नी  छोरीलाई काखा, बुहारीलाई पाखा, पुरुष गाउँ डुल्ने महिला चुल्होचौका गर्ने अनि सम्पत्तिमा पुरुषको मात्रै अधिकार हुने पनि हाम्रो संस्कार जस्तै बनेको छ । सोझो, निमुखा, अपांगलाई छिछिदूरदूर गर्ने, बच्चाबृद्धलाई बेवास्ता गर्ने, जातीपाटी, धनीगरीब, उँचनीचको नाउँमा बिभेद गर्ने चलनले हाम्रो समाज अझै पनि बिभक्त छ । कानूनतः केहि सापेक्ष परिवर्तन आएपनि व्यवहारमा रुपान्तरण हुन बाँकी नै छ । त्यसको लागि के आवश्यक छ त?

●       नेपालमा केहि वर्ष यता अधिकारका लागि आवाजहरु उठे । आफ्नो अधिकारका लागि उठाएका आवाज, कदम, अभियान, जस्तैः बन्द, हडताल, चक्काजाम आदिले अरुलाई मर्का नपरोस् भनी सजग हुनसकेको भने देखिएन । वास्तविक पिडित, जस्तैः अपांग, मनोरोगी, बालवृद्ध, अल्पसंख्यक जस्ता आवाजविहिनहरुको आवाज भने शुन्य प्रायः छ । सहअस्तित्व, स्वतन्त्रता, सम्मान, समानतामा आधारित मानव अधिकार लक्षित वर्गमा कसरी पुग्ने?

●       मनोचिकित्साको एक विश्व सम्मेलनको सिलसिलामा म अष्ट्रेलियाको मेलवर्न गएको बेला मनोचिकित्सा, चिकित्साक्षेत्रका लगायत् त्यहाँका मन्त्री र मेयर सहित उच्च ओहदाका सरकारी प्रतिनिधिहरु पनि कार्यक्रममा आमन्त्रित थिए । हामीकहाँ जस्तो मन्त्री वा ओहदाको भनेर विशेष तडकभडक वा पदीय हिसाबको भिन्न व्यवहार नदेख्दा मलाई को मन्त्री को के भनी थम्याउन हम्मे प्यो । तर एक गजबको अनुभव त्यहाँ के भयो भने सबै सहभागीहरुले आफू सम्मानित रहेको महसूस गरे । उच्च ओहदाका व्यक्तिले पनि अरु सरह बसे र आफ्नो धारणा मर्यादित ढंगले राखे । हामीकहाँ यस्तो कहिले हुने?

मानवमूल्य र मर्यादाः     

मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानवसभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । मानव मूल्यको बारेमा चिन्तनमनन्, खोजी, यसको अस्तित्व कायम राख्ने संघर्षमा धेरै महत्वपूर्ण क्रान्तिहरु भएकाछन् । मानव मूल्यलाई विभिन्न विधा, क्षेत्र र विषयका मानिसले नैतिक, नीतिगत, कानूनी वा राजनैतिक र आआफ्नै हिसाबले परिभाषित गर्ने गरको पाइन्छ । वैज्ञानिक रुपमा यसको परिभाषा स्थापित भैनसकेपनि मूलरुपमा एक मानिसले जन्मसिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ । सामान्यतः जब यसको हनन् वा पिडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शव्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ ।

मानव मर्यादामाथिका चुनौतीहरुः 

मानवमूल्य वा मर्यादामा व्यक्तिगत र सामुहिक हिसाबले विविध स्वरुपमा प्रहार वा हनन् हुनेगर्छ । जानीनजानी, सँस्कारगत वा नियतपुर्वक विशेष गरेर शक्तिशाली पक्षले कमजोर पक्षलाई उपहास गर्ने ९जगmष्ष्बितष्यल०, मतलब सिद्धीको लागि प्रयोग गर्ने , छुद्र साबित गर्ने  वा अमानवीय  व्यवहार गर्ने गरेका सानाठूला उदाहरणहरु हाम्रा घर, समाज, राज्य, विश्व र मानव इतिहासमा अनगिन्ति छन् । यातना, बलत्कार, बँधुवा, कमलरी, सती, सामाजिक बिभेद, मजदुरहरुको श्रमशोसन आदि मानवमूल्य उलंघनका केहि दृष्तान्त हुन् । साधनश्रोत, सम्पत्तिमा निश्चित वर्गको मात्र पहुँच र अधिकार बनाएर बहुसंख्यलाई गरीबी, अभाव र उत्पीदनमा बाँच्न बाध्य बनाउने र आफ्नो बर्चस्व कायम राख्ने परम्परा पनि कायमै छ । हुनेले खानेलाउने, मोजमस्ती, मनोरञ्जन, सामाजिक व्यवहार, शिक्षा र दैनिकजीवनका यावत् कुराहरुमा आममानिसले धान्न नसक्ने खालको व्यवहार देखाएर बहुसंख्य मानिसहरुको मनमा आफू तिरस्कृत, असक्षम वा नीच, सामाजिक रुपले त्यक्त, सिमान्तकृत वा समग्रमा मर्यादाविहिन भएको महसूस गराएर बिभेदको परम्परा चलाइराख्ने खेल पनि चलि नै रहेकोछ । विशेष गरेर विकासोन्मुख देशहरुमा महिलालाई सरसफाईको कमिले उनीहरुको आत्मसम्मानमा ठेस पुगिरहेको हुन्छ । अझै पनि कतिपय नेपाली गाउँघरमा चर्पी नहुँदा खुल्ला ठाउँमा दिसापिसाप गर्नुपर्ने बाध्यता छ । सरसफाइको सख्त जरुरत पर्ने मासिक धर्मको बेला गोठमा थुनिन कतिपय महिला बाध्य छन् । समाजमा असुरक्षित, अस्वस्थ र खतराजनक हिसाबले फोहर र सिनो बोक्न, अरुले फालेको सढेगलेको बासीकुरा खान, खुला सडकपेटीमा सुत्न, बृद्ध, रोगी रअस्वस्थ हुँदा हात फैलाउन बाध्य मानिस हाम्रो समाजमा धेरै छन् । रोगले मन असन्तुलित र अनियन्त्रित भएकाहरुलाई टाढा लगेर छाडिदिने, खोरमा थुन्ने, उपचार नगर्ने वास्तविकता अद्यापि कायम छ । कमजोर असहाय बिधुवालाई बोक्सी भन्ने, एक महिलालाई सबै दाजुभाईको पत्नी बनाउने, बालविवाह, बहुविवाह, विवाहमा दाइजो र डोरी प्रथा अनि विधुवालाई विवाहमा रोक लगाउने चलनले नेपाली महिलाहरुको आत्मसम्मान अद्यापि दोश्रोदर्जाको जस्तै छ । एकातिर पहिलेदेखि नै मानवमूल्यको बखान र यसको लागि मानिसले गर्नुपर्ने कर्तव्य, उत्तरदायित्व, त्याग र नियमबारे विस्तृत रुपमा सबैजसो मानवसभ्यता, समाज, सँस्कृति, धर्मग्रन्थ र साहित्यमा उल्लेख पाइन्छ भने अर्कोतिर व्यवहारमा यस्तो बिभेद र बिसंगति विविध स्वरुपमा घरसमाज, राज्य र विश्वस्तरमै रहिआएकोछ । भुकम्प, बाढीपहिरो, जस्ता विपद्को बेलामा त झन् दयनीय बन्नेगर्छ । 

मानव अधिकारको आवाजः

समयले सिकाउँदै लैजाँदा मानवीय मूल्यको संरक्षण र जगेर्नाको लागि पश्चिमेली मुलूकहरुबाट मानव अधिकारको अवधारणा उजागर हुनथाल्यो । विश्व इतिहासमा चौधौं शदीमा आएर पहिलोपटक मानव अधिकार ९ज्गmबल चष्नजत० भन्ने पदावली देखा परेको मानिन्छ । मानव मूल्य र मर्यादा कायम राख्न हर मानिसका लागि आवश्यक पर्ने अधिकारहरुको लागि इतिहासमा अमेरिकी, फ्रान्सेली, अंग्रेजी लगायत अन्य क्रान्ति, संघर्ष र घटना परिघटनाहरु भए । विश्वयुद्धहरुको ढंगढंगीमा जब जर्मन नाजीहरुले निहत्था बन्दीहरुमाथि आमहत्या जस्तो जघन्य घटना घटाए, अनुसन्धानको नाममा निर्दोष मानिसहरु बलिका बोका जस्तै बनाइए, विश्वमा हर मानिसका लागि जन्मसिद्ध रुपमा हासिल हुने हक र अधिकारको बहस चुलियो ।

सन् १९४८ डिसेम्बर १० का दिन मानव अधिकारको विश्वव्यापी घोषणा पत्र ९ग्लष्खभचकब िमभअबिचबतष्यल या ज्गmबल चष्नजतक० जारी भयो । यस घोषणाले हर व्यक्तिका नैसर्गिक नागरिक, राजनैतिक , सामाजिक , आर्थिक , साँस्कृतिक , आद्यात्मिक हक अधिकार  को प्रतिस्थापन गरेकोछ । मानव अधिकारको वकालत गर्नुका साथै यसले व्यक्तिको समाज र अरुको अधिकारको आदर गर्ने र संयुक्त राष्ट्रसंघको उद्धेश्यको पालना गर्नुपर्ने दायित्व पनि दिएकोछ । परिमार्जन हुँदै यसको आधारभूमिमा विश्वव्यापी, क्षेत्रगत र स्थानीय रुपमा मानव अधिकारको संरक्षण, अनुशीलन र सम्बद्र्धनका लागि अरु धेरै घोषणा, अवधारणा, सिद्धान्तहरु अगाडि आए । सिद्धान्ततः संसारभरि नै नैतिक, नीतिगत, कानूनी र राजनैतिक हिसाबले मानव अधिकार प्रतिस्थापित हुँदैगएको छ, यसको परिभाषा व्यापक र परिमार्जित हुँदैजाँदै पनि छ । मानवजीवन र समाजका विविध क्षेत्र, पाटा र आयामहरु, जस्तैः शिक्षा, स्वास्थ्य, राजनीति आदिमा व्यावहारीक हिसाबले संतोषजनक रुपान्तरण भने हुन सकेको देखिँदैन । यहि वर्तमान यथार्थताबीच हामी र अरु विकासोन्मुख मुलुकहरुमा खासगरी मानवमूल्य र अधिकारको हनन् र बेवास्ता कथा मात्र होइन, शुरुमै उधृत भएजस्तै दैनिक भोगाइ बनिरहेकोछ ।   

मानवीय सिद्धान्तको व्यावहारीक रुपान्तरणको उपायः

मूल्यमर्यादा र अधिकारको दृष्टिले संवेदनशील मोडबाट गुज्रिरहेको यस्तो वर्तमानलाई सभ्य, सुसँस्कृत र सम्मानजनक भविष्यतर्फ दोह¥याउने अभिभारा यहि वर्तमानको काँधमा छ । यस्तो सार्वजनिक दायित्व हर व्यक्ति, परिवार, समाज, राज्य र समग्र विश्वले मिलेर एकवद्ध भएर निभाउन आवश्यक छ । सैद्धान्तिक रुपमा स्थापित भएका मानव अधिकारहरुको प्रत्याभूति र उपभोग गरेर हरेक मानिसले आत्मसम्मान, मर्यादा र इज्जतका साथ जिउनपाउने र समाजमा योगदान गर्ने वातावरणको सृजना गर्न र व्यावहारीक रुपान्तरण गर्नको लागि पहिलो आवश्यकता भनेको यसबारेको जनचेतना र जागरुकता नै हो । यसको शुरुवात भनेको हर व्यक्तिले आफ्नो घरपरिवार र समाजबाट गर्ने हो । राज्य र अन्तर्राष्ट्रिय तहमा नीतिगत अवधारणा बनिसकेकोले अबको आवश्यकता यहि नै भएको छ ।

आजको सन्देसः

यस्तो अभियान स्वास्थ्य, चिकित्सा, शिक्षा र जीवविज्ञानका हर संकायमा आवश्यक भएको महसुस गरी युनेस्कोको बायोइथिक्स सञ्जालले यस वर्ष अक्टोवर १९मा विश्वभरि नै सर्बप्रथम बायोइथिक्स दिवस ‘मानवमूल्य र मानव अधिकार’  भन्ने नाराका साथ मनाउँदैछ । यो वर्ष यो सञ्जाल र यो अवधारणाले सेवाप्रदायक, सेवाग्राही र समाजका हर व्यक्ति आआफ्नो मर्यादा र अधिकारप्रति सजग बनाउने द्येय बोकेकोछ । यहि अवधारणाको बिस्तारका लागि विविध कार्यक्रमका साथ नेपालको बायोइथिक्स एकाइ पनि इतिहासको यो महत्वपूर्ण मोडको साक्षी र अंश बन्दैछ । 

भर्खरभर्खर संविधान जारी भएर लागू पनि नहुँदै परिमार्जनको माग उठिरहेको नेपालको हाम्रो परिवेसमा यो नाराले अरुको अधिकारको कदर र सम्मान गर्दै आफ्नो अधिकारप्रति सजग बन्न प्रेरणा मिलोस् । मानवमूल्य र अधिकारबारे आधारभूत जानकारी राखौं, यसबारे सचेत बनौं । परस्परमा सद्भाव राखी अधिकार र कर्तव्य दुवै ख्याल गर्नसिकौं । मानवमूल्य, प्रतिष्ठाको जानीनजानी अवमुल्यन हुन नदिने अभियानको शुरुवात आफैंबाट गरौं । आफ्नो र अरुको कसैको मानवअधिकार हनन् नहुने सभ्य र विधिसम्मत समाजको लागि आआफ्नो तर्फबाट प्रण गरौं । मानवमूल्य र अधिकारबारे हामीबीच विद्यमान सवालहरुको उत्तर हासिल हुँदैजाऊन् । शुभकामना । 

डा. शाक्य बायोइथिक्स दिवस, नेपालका संयोजक हुन् । वरिष्ठ स्नायु, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ  समेत रहेका  शाक्य एडिशनल प्रोफेसर हुन् ।

Last modified on 2017-08-13 15:35:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts