निमालाई नमनः जसले सेमजोङलाई साहारा दिइन् 

सन्दर्भः राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस



Download our app to get more features

धादिङको उत्तरी गाविस सेमजोङ । सदरमुकाम धादिङवेसीबाट झण्डै ३३ किलोमिटर उत्तर तर्फ लागेपछि एक रमणीय पहाडी गाविस समेजोङ पुगिन्छ । चारैतिरका हरियाली पहाडहरुले त्यस ठाउँको सौन्दर्य झनै लोभ लाग्दो थियो । बाटोको छेउ–छाउ र आसपासमा फुलेका फूलहरुले सेमजोङ थप रंगीन बनेको थियो । अघिल्लो वर्षको भूकम्प र त्यसले निम्त्याएको वियोग बिर्सेर तङ्ग्रिदै गरेको सेमजोङ अझै पूर्ण रुपमा उठिसकेको भने छैन । प्रकृतिले विपद्को त्रास बिर्साउन खोजेपनि भूकम्पको दर्दले सेमजोङवासीलाई विझाउन भने छाडेको छैन । तर, यहाँका स्थानीयहरुमा देखिने मन्द–मन्द मुस्कानले भने पीडालाई उछिनेको आभाष गर्न सकिन्छ । 

यातायातको हिसावले सेमजोङवासी ६ महिना सदरमुकाम देखि टाढा रहन्छ । वर्षायाम सुरु भएदेखि नै त्यस क्षेत्र यातायातबाट बञ्चित हुन पुग्छ । 

अघिल्लो वर्ष गएको भूकम्पले अधिकांश सेमजोङवासीकै घर, गोठ जमिनमा मिसाइदियो । सोही विपदमा परी १७ जनाले ज्यान पनि गुमाएका थिए । विस्तारै विस्तारै यी पीडाहरु विर्सदै डेढ वर्षको अवधिमा सेमजोङवासीहरु आफ्नो जीवनलाई सक्रिय बनाउने प्रयासमा जुटेका छन् ।

सेमजोङ –३  चौताराकी २३ वर्षीया नीमा तामाङ निकै खुसी देखिएकी छिन् । उनी स्वास्थ्य स्वयम्सेविका हुन् ।

बैशाख १२ गतेको भुकम्पपछि उनी स्वास्थ्य स्वयंसेविका बनेकी थिइन् । १६ वर्षको कलिलै उमेर बिवाह गरेकी उनी २ छोरीको आमा समेत बनिसकेकी छन् । ९ कक्षा सम्म पास गरेको र शिक्षित  भएकी हुनाले पनि आमा समुहले उनलाई छनोट गरेको थियो । उनले भनिन् ‘ गाउँमै बसेर स्वास्थ्य स्वयंसेविका भएर सेवा गर्न पाउनु मेरा लागि ठूलो अवसर थियो ।’  

उक्त अवसरसँगै निमाका लागि निकै चुनौती पनि थिए । जुन समयमा उनी स्वास्थ्य स्वयंसेविका बनेको थिइन् त्यस समयमा भूकम्पबाट गाउँसँगै रहेको एकमात्र स्वास्थ्य चौकी समेत ध्वस्त भएको थियो ।

तर पनि नीमाले गाउँलेले दिएको जिम्मेवारीबाट पछाडी नहटी भूकम्प पछि पाल मुनिबाट बिरामीको सेवा गर्दै आएकी थिइन् । 

सामान्य विरामी हुँदा पनि डेढवर्षदेखि पालमुनीबाटै जवर्जस्त जीवन खोज्न बाध्य थिए त्यहाँका स्थानीयहरु । स्वास्थ्यचौकी नभएपछि पालले बारिएको सानो छाप्रोमुनि उपचार गराउनु र त्यहाँ पनि सम्भव नभए सदरमुकाम वा राजधानीसम्म उपचारको खोजीमा धाउनुपर्ने उनीहरुको बाध्यता थियो । 

‘सुत्केरी गराउन समस्या थियो, उनले भनिन् ‘पालमा सुत्केरी गराउनु पर्ने भएकाले चिसोमा सारै चिसो र गर्मीमा धेरै गर्मी हुन्थ्यो, साथै वर्षयाममा पानी चुहिने समस्याको त कुरै नगरौं ।’

स्वास्थ्य चौकीको अभावका कारण सेमजोङका कतिपय गर्भवतीहरु सुत्केरी हुनु भन्दा दुई महिना पहिला नै धादिङ्गवेसी गएर बस्ने गरेको उनले बताइन् । गर्भवती मात्र होइन गाँउमा कोही बिरामी हुँदा स्वास्थ्य उपचारका लागि धादिङवेसी हुदै काठमाडौंसम्म धाउन वाध्य थिए ।

स्वास्थ्य चौकीको अभावका कारण सेमजोङका कतिपय गर्भवतीहरु सुत्केरी हुनु भन्दा दुई महिना पहिला नै धादिङ्गवेसी गएर बस्ने गरेको उनले बताइन् । गर्भवती मात्र होइन गाँउमा कोही बिरामी हुँदा स्वास्थ्य उपचारका लागि धादिङवेसी हुदै काठमाडौंसम्म धाउन वाध्य थिए ।

सेमजाङमा धेरै भयो गर्भवती र शिशुको मृत्यू नभएको । हँसिलो मुद्रामा गर्वका साथ निमाले भनिन् ‘मेरा लागि ठूलो चुनौती थियो, तर यस्तो अवस्थामा पनि एक जना शिशु र आमाको मृत्य भएन, यो नै मेरा लागि ठूलो सफलताको कुरा हो ।’

तामाङको वाहुल्यता रहेको क्षेत्र धामी झाक्रीको अवस्था, हाम्रो प्रश्न पुरा नहुँदै निमाले भनिन् ‘गर्भवतीहरु धामी झाँक्रीकोमा गएपनि उनीहरुले स्वास्थ्य चौकी जान समेत सल्लाह दिने गरेका छन् ।’

उनी भन्छिन् ‘पैसा भन्दा पनि सुत्केरी दिदीबहिनीको ज्यान ठूलो हो, जुन मैले सिकेका केही आधारभूत तालिमबाट उनीहरुको ज्यान बचाउन सकेको छु ।’  

निस्वार्थ भावले सेवा गर्दा आफुलाई खुसी मिलेको निमाले बताइन् । कुनै पनि आमा र शिशु मृत्यु नहुनु नै मेरो कमाई हो । गाउँमै सेवा गर्न पाउँदा धेरै सुत्केरी र शिशुको ज्यान बचाएको छु, यो नै मेरो ठुलो धर्म हो । सरकारले पोषाक भत्ता स्वरुप दिदै आएको सात हजार पाँच सय नै उनका लागि सबै थोक होइन । उनी भन्छिन् ‘पैसा भन्दा पनि सुत्केरी दिदीबहिनीको ज्यान ठूलो हो, जुन मैले सिकेका केही आधारभूत तालिमबाट उनीहरुको ज्यान बचाउन सकेको छु ।’  

हिजोआज तामाङको खुसीको सीमा नै छैन । गत कार्तिक ४ गते जर्मन सरकारको सहयोगमा जीआइजेडको जर्मन रिकभरी कार्यक्रम अन्तर्गत झण्डै ४२ लाखको लागतमा स्वास्थ्य चौकी निर्माण भएपछि उनमा थप उर्जा जागेको छ । इच्छाशक्ति सलबलाएको छ ।

स्वास्थ्य चौकी निमार्णपछि स्वास्थ्य चौकीमा रहेको सुत्केरी कक्ष हेर्दै निमाले भनिन् ‘पहिला सुत्केरी गराउन धेरै समस्या हुन्थ्यो, यहाँ त धेरै सुविधा रहेछ ।’ अब स्वास्थ्य चौकी बनेपछि भने आफ्नो काममा निकै सहजता आउने उनले बताइन् । नीमाजस्तै भूकम्पप्रभावित क्षेत्र र देशैभर यस्ता हजारौं नीमा खटिएका छन् । ती सबै नीमालाई उचित स्रोत साधन, र तालिम दिन सके आममानिसमा स्वास्थ्यको पहुँच पुर्याउन राज्यलाई थप सजिलो हुन्छ । देशभर खटिएका हजारौं नीमालाई नमन् ।
 

Last modified on 2016-12-07 12:34:12

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts