धेरै पानी पिउनु पनि घातक



Download our app to get more features

पानी कति पिउने गर्नुहुन्छ ? स्वास्थ्यका लागि प्रशस्त पानी पिउनु लाभदायक छ । यो सही हो । तर, प्रशस्त पिउने भनेको कति ? यो सवालमा धेरै मान्छेमा अन्योल छ । शरीरलाई आवश्यक मात्रामा पानी पिउनु नै प्रशस्त भनेर बुझ्नुपर्छ ।

यसको मापन व्यक्तिको उमेर, कसरत, परिस्थितिमा भर पर्छ । शरीरबाट पसिना धेरै बाहिरिएको छ भने पानीको आवश्यक्ता बढी हुन्छ । एक वाक्यमा के बुझ्नुपर्छ भने पेटमै असहज हुनेगरी, हिलिक्क हुनेगरी पानी पिउँदा बेफाइदा गर्छ । शरीरको मागभन्दा बढी पानी पिउँदा पनि स्वास्थ्यमा हानि गर्नेबारे चिकित्सकहरुले सचेत गराएका छन् ।

लण्डनको किंग्स कलेज हस्पिटलमा एक बिरामी महिला भर्ना भइन् । डाक्टरहरुले जाँच गरेपछि पत्ता लाग्यो कि महिलाको रगतमा नुनको स्तर निकै कम भएको छ । ब्रिटिस मेडिकल जर्नलमा छापिएको रिपोर्टअनुसार महिलाको जस्तो स्थिति त्यो समयमा निम्तिन्छ , जब व्यक्तिले थोरै समयमा धेरै पानी पिउने गर्छ ।

खासमा सुरुवातमा ती महिलाको मूत्र प्रणालीमा इन्फेक्शन भएको थियो । यही समस्या समाधानका लागि भन्दै उनले हरेक आधा घण्टामा एक गिलास पानी पिउन थालिन् । यसरी अत्यधिक पानी पिउन थालेपछि नै उनको स्वास्थ्यमा गडबडी भयो ।

डाक्टरहरुका अनुसार रगतमा नुनको स्तर तब अचानक कम हुन्छ, जब व्यक्तिले थोरै समयमै धेरै पानी पिउने गर्छ । यसले वमिट हुने तथा टाउको दुख्नेजस्ता समस्या निम्त्याउँछ । जर्नलमा छापिएको रिपोर्टअनुसार महिलामा वाटर इन्टाक्सिकेसनको लक्षण देखियो, यो धेरै पानी पिएर हुने समस्या हो ।

हस्पिटलमा बिरामी महिलाको उपचार सँगै डाक्टरहरुले थप अध्ययन सुरु गरेका छन् । उनीहरुले बताएका छन्, रगतमा नुनको अवस्था असामान्य रुपमा कम भएका बिरामीमध्ये लगभग ३० प्रतिशतको मृत्यु हुने गर्छ ।

डाक्टरहरुले पानीले फाइदा गर्छ भन्दैमा शारीरिक असहजता निम्तिने गरी एकैपटक धेरै पानी नपिउन सुझाव दिएका छन् । पब्लिक हेल्थ इंगल्याण्डले भने वयस्क व्यक्तिले दिनमा ६–८ गिलास पानी पिउनु पर्याप्त हुने बताएको छ ।

(आजको नयाँ पत्रिका दैनिकबाट)
 

  1. स्नेहा कश्यप

    स्नेहा कश्यप हाम्रो डक्टरमा संवाददाता तथा डेस्क सम्पादकको रुपमा कार्यरत छिन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts